एकैदिन ८७९ जनाले कोरोनालाई जिते, १५ जनाले गुमाए ज्यान



काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ८७९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका जानकारी दिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८७९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका जानकारी दिए ।
योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५ सय ६७ पुगेको छ । यो निको हुनेको दर ७१ दशमलव ५ रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
साथै पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । मोरङका दुई पुरुष, काठमाडौंमा एक महिला र पाँच पुरुष, ललितपुरमा एक पुरुष, भक्तपुरका एक पुरुष र रामेछापका एक पुरुषले ज्यान गुमाएका हुन् । यस्तै गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुकी एक एक महिलाले पनि ज्यान गुमाएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार सय ७० जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार तीन सय २९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।