राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडिओ बनाउने गायक तामाङलाई पुर्पक्षका लागि जेल चलान



काठमाडौं । जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मुलुकको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडिओ बनाएको आरोपमा पक्राउ परेका मध्ये गायक तामाङलाई मात्रै पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
मुलुकको राष्ट्रिय झण्डा र नेतासहितका व्यक्ति फोटो जलाउनुका साथै जातीय सम्प्रदायिकता भड्काउने शब्द प्रयोग गरेको म्युजिक भिडिओ बनाएको आरोपमा गायक तामाङसहित नौ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।
गायक तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतले बाँकी आठ जनालाई भने धरौटीमा रिहा गर्न निर्देशन दिएको छ। मकवानपुर सल्लेनी वडा ३ स्थित विष्णु आधारभूत विद्यालय परिसरमा छायांकन गरिएको सो ’देशद्रोही’ बोलको म्युजिक भिडिओ ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरेपछि सर्वत्र विरोध भएको थियो ।