ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन राष्ट्रपतिको आग्रह



काठमाडौं १५, असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गर्नुभएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ-आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको हो ।
उहाँले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसाथ गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।