
प्रशासनद्वारा शक्तिपिठहरुमा दर्शन र बली दिन प्रतिबन्ध



काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक बली दिन तथा दर्शनका लागि भीडभाड गर्न निषेध गरेको छ ।
शुक्रबार प्रशासकीय अधिकृत यज्ञराज जोशीले विज्ञप्ति निकालेर घटस्थापनादेखि पूर्णिमासम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधरणको भीड लाग्ने भएका कोरोना संक्रमणको जोखिम बढाउने भन्दै नित्य पूजाबाहेक बली दिने र दर्शनका लागि निषेध गरेको जानकारी दिएका हुन् ।
भक्तपुरभित्रका सबै शक्तिपिठ तथा मन्दिरहरूमा नित्य पूजा बाहेक बली दिने, दर्शनका लागि भीडभाड गर्ने लगायत कोभिड(१९ को संक्रमण फैलन सक्ने अन्य गतिबिधि गर्न निषेध गरिएको हो ।
सरकारले सार्वजनिक यातायातदेखि बजार पसल खोल्दा मठमन्दिरमा प्रतिबन्ध लगाएको भन्दै विरोध हुँदै आएको छ । नेपालीको महान पर्व बडा दशैँमा बली दिने र शक्तिपिठको दर्शन र पूजा गर्ने चलन रहँदै आएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन लगाइएसँगै मुलुकको मठमन्दिरसहित धार्मिक प्रतिष्ठानमा दर्शनमा रोक लगाइएको छ ।
