स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन पाँच दिन बन्द



काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशँैका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताउनुभयो । उहाँले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताउनुभयो ।
मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै एक लाख दुई हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।रासस