
चलचित्र ‘कृष्णलीला’ मा दीपिकाको स्थानमा आइन् श्रद्धा



काठमाडौं - 'पण्डित बाजेको लौरी' चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र 'कृष्ण लीला' मा अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्।
उनी अभिनेत्री दीपिका प्रसाईंको स्थानमा आएकी हुन् । पहिले यस चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको अभिनय रहने बताइएको थियो । तर प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै चलचित्रबाट हात झिकेपछि उनको स्थानमा श्रद्धालाई अनुबन्ध गरिएको हो ।
दीपिका केही समयदेखि थाइराइड र माइग्रेनको समस्याले पीडित रहेको बताइएको छ । अब यस चलचित्रमा श्रद्धाले अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन्।
लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने यस चलचित्र कमेडी कथामा आधारित हुने निर्माण टिमले बताएको छ ।
चलचित्रमा पुष्प र श्रद्धासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रको छायांकन मंसिर १५ बाट सुरु हुने बताइएको छ ।
