पशुपति खुलेसँगै भक्तजनहरुको चहलपहल वढ्यो



काठमाडौं ।
नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् ।
भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।
पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ । हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उनले बताए । मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन थालेका छन् । नौ महिनासम्म फूल प्रसाद व्यवसायी पसल बन्द गरेर बसेका थिए । चिसोसँगै पशुपति क्षेत्रमा टहल्ने र घाम ताप्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
पुसमा विशेषगरी पशुपति क्षेत्रको सूर्यघाटमा पूजा एवं दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । हाल सूर्यघाटमा जान सहज बाटो नभएकाले असहज भएको भक्तजनको गुनासो छ । सूर्यघाट जान सहज मार्ग निर्माण गरिनुपर्ने दर्शनार्थी राजकुमार सिग्देलले माग गरे । पुस महिनाको पनि आइतबार सूर्यघाटमा भक्तजनको भीड लाग्छ । रासस