सरकारी जग्गा कीर्ते अभियोगका नेकपा नेता पुरी साधारण तारेखमा रिहा
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![सरकारी जग्गा कीर्ते अभियोगका नेकपा नेता पुरी साधारण तारेखमा रिहा](https://www.sauryapatra.com/wp-content/uploads/2021/01/1579493043gagan_puri-778x500.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाण्डौं ।
विशेष अदालतको ‘निर्देशनात्मक आदेश’ पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई तारेखमा रिहा गरेको छ।३९ दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता पुरी शुक्रबार तारेखमा छुटेका हुन्। पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनायो।
सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो। तर, विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो।पुरीलाई हिरासतमा राखेर अनुसन्धान गर्ने समय थपका लागि गत आइतबार विशेष अदालत लगिएको थियो। अदालतले उनलाई अन्तिमपटक भनी सात दिनको म्याद थपेको थियो।
अरू मुद्दामा खुरूखुरू हिरासत राख्न अनुमति दिने अदालतले यो प्रकरणमा आरोपीलाई अन्तिमपटक थुनामा राख्न भन्दै आदेश दियो,’ विभाग स्रोतले भन्यो।
विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको लागि पक्राउ परेर मुद्दा अदालत नपुग्दै छुट्ने छुट्ने पुरी पहिलो व्यक्ति हुन्।
यसरी पक्राउ व्यक्तिलाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार विभागलाई छ।दमक-८ (साबिक-१३ र १४)को सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा हत्याएको आरोपमा पुरी विरूद्धको मुद्दा झापा जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ।
सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ अनुसन्धान गर्न भनेपछि विभागले पुरीमाथि अनुसन्धान थालेको थियो।पुरीले २४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ।
पुरी दमक नगरपालिका-६ का हुन्। उनी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा ३३ बिगाहा सरकारी जग्गा पुरीको नाममा पुगेको देखिएको थियो। अझै केही जग्गा पुरीको नाममा देखिन सक्ने आँकलन रहेकाले अनुसन्धान जारी रहेको ती अधिकारीले बताए।
दमक नगरपालिका-८ (साबिक १३ र १४) मा ‘बालुवाटार’ फाँट छ। चार दसकअघि रतुवा खोलाले पुरिरहने भएकाले ‘बालुवाटार’ नामाकरण गरिएको त्यही फाँटमा सुकुम्बासीका निम्ति कित्ताकाट भएको सरकारी जग्गा पुरीले आफ्नो नाममा ल्याएको भेटिएको थियो।
पुरीले सरकारी जग्गा विक्रीबाट आएको सम्पत्ति निजी घर निर्माण, जग्गा खरिद र क्रसर उद्योगमा लगानी गरेको देखिएको विभागले जनाएको छ।
पुरीले विभिन्न व्यक्तिहरूलाई जग्गा बिक्री गरेका छन्। तीमध्ये कतिपय व्यक्तिले किनेको जग्गा अर्को व्यक्तिलाई बिक्री गरिसकेका छन्। त्यसरी बिक्री गर्ने व्यक्ति पनि अनुसन्धानमा आउने विभागले जनाएको छ।सेताेपाटी