आज र भोलि देशैभर वर्षाको सम्भावना



काठमाडौं ।
काठमाडौंसहित देशका केही स्थानमा सोमबार बिहान वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो । हाल देशभरको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि (मंगलबार) देशैभर वर्षाको सम्भावना रहेको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन । हल्का वर्षा हुनेछ । बुधबारदेखि मौसम क्रमशः खुल्ने महाशाखाले जानकारी दिएको छ ।
‘‘आज र भोलि मौसम बदली हुनेछ । बुधबारदेखि सुधार हुँदै जानेछ,’’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले बाह्रखरीसित टेलिफोनमा भने, ‘‘बिहीबारदेखि देशैभर मौसम सफा हुने देखिन्छ ।’’
काठमाडौं उपत्यकामा सोमबार दिउँसो र मंगलबार पनि वर्षाको सम्भावना छ । काठमाडौंमा सोमबार बिहानको वर्षा भने मापनसमेत नहुनेखालको भएको उनले बताए ।
उनका अनुसार काठमाडौं आसपासलगायतका स्थानमा तत्काल हिमपातको सम्भावना छैन । तापक्रममा खासै गिरावट आएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा भने हिमपात हुनेछ ।
महाशाखाको पछिल्लो विवरणानुसार जुम्लामा २३.८ मिलिमिटर, वीरेन्द्रनगरमा ११.२ मिलिमिटर, डडेल्धुरामा १० मिलिमिटर, धनगढीमा ९.७ मिलिमिटर, दिपायलमा ६.७ मिलिमिटर वर्षा भएको छ ।