बाक्लो हिमपातमा परी जापानमा १३ जनाको मृत्यु



टोक्यो (एजेन्सी)
जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् ।
यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ ।
यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ ।
किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ । दृष्टिन्युज ।