एनसेलबाट तत्काल आयकर नअसुल्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं ।
सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर नअसुल्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा चित्त नबुझेपछि एनसेलको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
बुधबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो । गत पुस १० मा पाँच वर्षअघिको आयकर बुझाउन भन्दै ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेको थियो । कार्यालयले करिब ६० अर्ब रुपैयाँ आयकर तिर्नुपर्ने दाबी गरेको छ । २०७२ को साउन १ देखि चैत २९ सम्मको आयकर निर्धारण गरेको थयो ।
रिटको अन्तिम किनारा नलागेसम्म कर निर्धारण कार्यान्वयन नगरी यथास्थितिमा राख्न उसले अन्तरिम आदेश मागेको थियो । ठूला करदाता कार्यालयबाट जारी भएको कर निर्धारणको सूचना र सो सूचना जारी गर्ने सम्बन्धमा भएका सबै निर्णयहरु बदर गर्न एनसेलले माग गरेको थियो । ठूला करदाता कार्यालयले २०७६ मंसिर १९ मा गरेको पुँजीगत लाभकर निर्धारण गरेको थियो ।
एनसेलले पुँजीगत लाभकर भुक्तानी गरिसकेको छ । आफूले सेयर कारोबारसम्बन्धी आयकर ऐन, २०५८ बमोजिमको कर दायित्व पूरा गरेको एनसेलको दाबी छ ।
ठूला करदाता कार्यालयले संसोधित कर निर्धारणको सूचना विगतमा सर्वोच्च अदालतको फैसला र आफैंले जारी गरेको कर चुक्ता प्रमाणपत्रहरूसँग बाझिन गएको एनसेलको भनाइ छ ।