पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो



काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ ।
निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।
यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।
अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ । डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७/७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेको छ । यसै कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।