नियमित उडान नहुँदा मलेशियामा ३५ नेपाली शवहरू अलपत्र



काठमाडौं ।
कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन् ।
ती शवहरू नेपाल ल्याउन ‘सरकारलाई आग्रह गरिए’ अनुसार ‘यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्याउने गर्छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ। कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ। स्रोत बिबिसी