गृहमन्त्रालयले थाल्यो निर्वाचन तयारीका लागि चारै वटा सुरक्षा निकायका प्रतिनिधिसंग छलफल


काठमाडौं ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेकैबेला गृहमन्त्रालयले निर्वाचन तयारीका लागि छलफल थालेको छ ।
निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाइरहँदा गृहको सचिवस्तरीय बैठक बसेर चारै वटा सुरक्षा निकायका प्रतिनिधि रहनेगरी निर्वाचन समिति गठन गरिसकेको छ ।
समितिको बैठकपछि सेना सहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चारैवटा सुरक्षा निकाय पनि सक्रिय बनेका छन् । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग मध्यावधि निर्वाचनको एकीकृत सुरक्ष योजना बनाउन छलफलमा जुटेका छन् ।
नेपाली सेना ‘व्याकप’ भएकाले उसले पनि आफ्नो तयारीलाई अघि बढाएको सैन्य स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ भने सशस्त्र प्रहरीले अतिरिक्त महानिरीक्षक (एआइजी) रामशरण पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।