सलमानको ‘राधेः योर मोस्टवान्टेड भाई’ र जोनको ‘सत्यमेव जयते २’ इदमा एकैसाथ रिलिज हुदै



काठमाडौं ।
कोरोनाका कारण गत वर्ष ठप्प रहेको वलिउड चलचित्रको छायांकन र रिलिजको काम यस वर्ष विस्तारै चलायनमा हुन थालेको छ । योसँगै बलिउडमा यस वर्ष रिलिजको तयारीमा थुप्रै चलचित्रहरु लाइनअपमा छन् ।
यस्तै, सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्टवान्टेड भाई’ यही वर्षको इदमा रिलिज हुने घोषण गरिएको छ । राधेको रिलिजको घोषणा भएसँगै यो चलचित्र अर्को ठूलो चलचित्रसँग भिड्ने पक्का भएको छ ।
सलमानको राधे अभिनेता जोन अब्राहमको सुपरहिट चलचित्र ‘सत्यमेव जयते’को सिक्वेल ‘सत्यमेव जयते २’सँग क्लैस हुने पक्का भएको छ ।
सलमानले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, “माफ गर्नुहोस्, थिएटर मालिकहरुलाई जवाफ दिन धेरै समय लाग्यो । आजको समयमा यो निकै ठूलो निर्णय हो । म थिएटर मालिकहरुले झेलिरहेको आर्थिक समस्यासँग जानकार छु । त्यसैले म राधेलाई सिनेमाघरमा रिलिज गरेर उहाँहरुलाई सहयोग गर्न चाहन्छु ।”
थिएटर मालिकहरुलाई सहयोग गरेको बदलामा उनले दर्शकको सुरक्षा मागेका छन् । उनी लेख्छन्, “बदलामा म उनलाई ‘राधे’ हेर्न आउने दर्शकका लागि थिएटरमा अत्यधिक सावधानी अपनाउने छन् भन्ने आशा गरेको छु ।”
यस चलचित्रमा सलमानका साथै दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा र जरीना वहाबलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् ।
यस्तै, अभिनेता जोन अब्राहमको ‘सत्यमेव जयते २’ गत वर्ष रिलिज गर्ने घोषणा गरिएकोमा कोरोना महामारीले यसलाई एकवर्ष पछाडि धकेलिएको हो । नवभारतटाइम्सवाट