योजना अधिकृतलाई वडा अध्यक्षले हातपात गरेपछि प्युठान नगरपालिकाका कर्मचारी आन्दोलित



प्युठान ।
स्वर्गद्वारी नगरपालिका प्यूठानका प्रशासन तथा योजना अधिकृतलाई वडा अध्यक्षले हाेटलमा लिएर कुटपिट तथा हातपात प्रयास गरेपछि उक्त नगरपालिका अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन ।
बिहिवार कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी गराएका छन । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठानका वडा अध्यक्ष टेक बहादुर भट्टराई र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ बस्ने गणेशमान कालाथोकीले नगर कार्यपालिकामा कार्यरत प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यलाई कर्मचारीको खटन पटनको विषयलाई लिएर होटेलमा बाेलाएर दुर्ववहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएकाे जनाएका छन । वडा अध्यक्ष भट्टराईले गाली बेइज्जती गर्ने , हातपात गर्ने , धम्की सहितका अमानवीय व्यवहार गर्ने जस्ता व्यवहार प्रति घोर भ्रत्सना गर्दछौं भन्दै कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन ।
आफूलाई कार्यालयमा आएर गणेशमान कालाथोकी ( भिम ) ले पटकपटक तपाईंसङ्ग काम छ भन्दै बोलाए पछि बाहिर जादा भिमले समाएर होटेल इन्द्रजाल होटेलको एउटा कोठाभित्र लगेर त्यही कोठाभित्र चुकुल लगाएर हातपात गरेको भन्दै त्यो कोठामा पहिलेदेखि नै वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराई ( पदम ) बसिरहेको प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यले बताए ।
कर्मचारीको सरूवापत्र च्यातिदिएर जनप्रतिनिधिले कर्मचारी हाजिरी हुन नदिए पछिको प्रक्रियामा यो घटना भएको आचार्यले जानकारी दिए ।