बैंकहरुको निक्षेप संकलनमा कमी कर्जामा वृद्धि


काठमाडौं ।
पछिल्लाे समय बैंकहरुको कर्जा लगानी लगातार बृद्धि हुन थालेको छ। माघ दोस्रो हप्ता बैंकहरुको निक्षेप संकलन घटेको भए पनि कर्जा लगानी भने बढ्दै गएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउछ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार, गत एक सातामा बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ।
तथ्यांक अनुसार पछिल्लो समय निक्षेप भन्दा कर्जाको बृद्धिदर उच्च छ। पछिल्लो एक सातामा निक्षेप संकलनमा १० अर्ब रुपैयाँले गिरावट नै आएको छ। तर कर्जा लगानी भने दैनिक झण्डै २ अर्ब रुपैयाँले बढेको छ।
पछिल्लाे समय बैंकहरुको कर्जा लगानी बढ्दै जाँदा बैंकिङ्ग प्रणलीमा रहेको तरलतामा समेत कमी आउन थालेको छ। गतआइतबार सम्ममा बैंकिङ प्रणलीमा ७९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।
निक्षेप संकलनमा कमी आउनु र कर्जा लगानी निरन्तर बढ्दै जाँदा यो तरलता अझै केहि कम हुँदै जाने जानकारहरु बताउछन्।
माघ ९ गतेसम्ममा बैंकहरुले ३७ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३२ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।