असुरक्षा र हिंसात्मक घटनाका कारण मध्य अफ्रिकाबाट दुई लाखजना विस्थापित



संयुक्त राष्ट्रसंघ ।
अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाखजना विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कंगोमा विस्थापित भएका छन् । प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजारजना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए ।
‘‘राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौँ मानिस विस्थापित भएका छन्,’’ नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने । राजनीतिक विवाद र हिंसात्मक द्वन्द्वका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन् । तीमध्ये महिला र बालबालिकाको संख्या पनि धेरै रहेको उनले बताए ।
हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए । त्यसैगरी, उनीहरु विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरु पनि आफैँ समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाइ छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने्सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ । दृष्टिन्युज