सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु



१२ कात्तिक, मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो ।
शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट भयो । दुबै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल–शबाबले लिएको छ । सोमालियाका अधिकारीहरुले दुई हप्ता अघिको विष्फोटमा पनि यही संगठनलाई जिम्मेवार ठहर्याएका थिए ।
यद्यपी अल कायदासँग सम्वन्धित यस समूहले १४ अक्टुबरको हमलामा आफ्नो हात नरहेको बताएको छ । तर शनिबारको हमलालाई लिएर अल शबाबले भनेको छ– सुरक्षाकर्मी र नेताहरुलाई निशाना बनाउन यो आक्रमण गरिएको हो । तर, सुरक्षा अधिकारी इब्राहिम मोहम्मदले १४ जनाको मृत्यु भएको र मारिनेहरु अधिकांश सर्वसाधारण नागरिक रहेको बताएका छन् ।
विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ ।
मोगादिशुमा प्रान्तीय नेताहरु सरकारसँग मिलेर अल शबाबविरुद्ध रणनीति बनाउन एकजुट भएको बेला पछिल्लो धमाका भएको हो । प्रान्तीय नेताहरुसँग आइतबार बैठक बस्दैछ ।