नेकपा ओली समूहले आज बुटवलमा आमसभा गर्दै



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शनसहितको उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो १२ बजेपछि बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा हुने सभामा २ लाख जनता उतार्ने ओली समूहको दाबी छ । ओली समूहका प्रदेश कमिटी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आमसभाका सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
उनले भने, ‘हजारौं मानिसहरु आमसभाका लागि बुटवल आउन थालिसकेका छन् । दुई लाख जनता उत्रिने छन् ।’ उनले थपे, ‘राष्ट्रको विकास र समृद्धि एवम् राष्ट्रिय स्वाभिमानको अभियानमा ऐक्यवद्धता जाहेर गर्न जनता आतुर छन् ।’
मञ्चमा पाँच वटा डिजिटल स्क्रिनबाट आमसभालाई प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, तीव्र गतिको इन्टरनेटको व्यवस्था मिलाइएको र प्रधानमन्त्री लगायत सबैको सहजै तस्बिर लिन सकिनेगरी सञ्चारमाध्यमलाई प्रशारण गर्ने स्थान पनि मिलाइएको जनाइएको छ ।
आमसभालाई प्रधानमन्त्री ओली सहित महासचिव एंव अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मुख्यमन्त्री पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।