डायमन्डलाई पराजित गर्दै एपिएफ फाइनलमा



पोखरा ।
होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
फाइनल पुग्न जित निकाल्नै पर्ने खेलमा डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । समान ५ अंक भएपनि सेटको आधारमा एपिएफ अघि बढेको हो । पुलिस ६ अंक जोडेर पहिलो स्थानमा रहदै फाइनलमा पुग्न सफल भयो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार एपिएफले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । खेलको शुरुवातदेखि नै अग्रता बनाएको एपिएफले अग्रता कायमै राख्न सफल भयो । दोस्रो सेटमा पनि एपिएफ २५–२१ ले नै विजयी हुन सफल भयो ।
दोस्रो सेटमा पनि एपिएफले सुरुवातदेखि नै अग्रता बनाउदा डायमन्डले पूनरागमन प्रयास गरेपनि सफल हुन सकेन । प्रतिस्पर्धात्मक तेस्रो सेटमा एपिएफ २५–२३ ले विजयी हुन सफल भयो । ११–११ को बराबरीबाट अघि बढेको एपिएफले आफ्नो अग्रता जोगाइरान्द सफल भयो ।
अब एपिएफले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेका थियो ।(हाम्रो खेलकुद)