इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए



९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ ।
टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।
‘कारखानामा एक सय ३० कामदार कार्यरत थिए,’ जाकार्ता प्रहरीका अधिकृत निको एफिन्ताले स्थानीय टेलिभिजनसँग भने । उनका अनुसार घटनामा घाइते भएका ४३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, २३ जनाको शव भेटिएको छ ।
विष्फोटका कारण भवन भग्नावशेषमा परिणत भएको छ । परिसरमा राखिएका कारहरु ध्वस्त भएका छन् । उक्त कारखाना सञ्चालनमा आएको ६ साता मात्र भएको थियो ।