मोरङमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहित ४२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता



मोरङ ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित ४२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दामा मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण र हत्या आरोप लगाइएको छ ।
अभियोगपत्रमा विप्लवको निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको उल्लेख छ । आजदेखि थुनछेक बहस गर्ने जिल्ला अदालत मोरङले जानकारी दिएको छ ।
मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको गत मंसिर २३ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो ।
हत्यापछि चन्द नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको थियो । हत्या आरोपमा मुद्दा चलाइएका मध्ये ४१ जना फरार रहेका छन् । घटनाको अनुसन्धानपछि प्रहरीले ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेश गरेर सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
मुद्दा चलाइएका ४२ जनामध्ये विप्लव समूहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परिसकेका छन् । विप्लव सहित खड्गबहादुर विश्वकर्मा, दीपक चलाउने, सन्तोषबुढा मगर लगायतका नेताहरु फरार सूचीमा रहेका छन् । दृष्टि