काठमाडौं पछि पोखरामा विद्युतीय तारहरु भुमिगत गरिदै
काठमाडौं ।
विद्युत् वितरण प्रणालीलाई प्रविधिमैत्री एवं अत्याधुनिक बनाउन तार भूमिगत गर्ने काम भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि काठमाडौंको महाराजगन्ज-बूढानीलकण्ठ क्षेत्र, लैनचौर-लाजिम्पाट क्षेत्र, चाबहिल-बौद्ध क्षेत्रमा तार भूमिगत गर्ने काम गरिरहेको छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने महाराजगन्ज–बूढानीलकण्ठको काम करिब एक महिनामा सम्पन्न हुने चरणका रहेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।
उनका अनुसार आयोजना यो क्षेत्रको लाजिम्पाटस्थित सांग्रिला होटेलदेखि बूढानीलकण्ठसम्मको दायाँ-बायाँ गरी १७ किलोमिटर दूरीको काम सम्पन्न हुने चरणमा छ । दायाँ-बायाँ गरेर सडकको दूरी १७ किलोमिटर भनिए पनि तार भने करिब सय किलोमिटर नै प्रयोग हुने उनले बताए । “कुनै ठाउँमा पाँच वटासम्म तार प्रयोग गर्नुपरेको छ । त्यसैले तार बढी लागेको हो,” उनले भने ।
महाराजगन्ज वितरण केन्द्रअन्तर्गत सामाखुसी, बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगन्ज, बूढानीलकण्ठलगायत स्थानहरुमा करिब २५० किलोमिटरमा ११ हजार भोल्टेज र करिब ४ सय किलोमिटर चार सय भोल्टेजको भूमिगत लाइन निर्माण हुने प्राधिकरणले जनाएको छ ।
सुरक्षित कति छ ?
आयोजना प्रमुख अधिकारीले विद्युत्को तार भूमिगत गर्दा कुनै जोखिम नरहेको बताए । “विदेशमा पनि भूमिगत गरिएको छ । यसमा डराउनुपर्ने कुनै कारण छैन । हामीले तार बिच्छ्याउने काम सकिएपछि चार्ज गर्छौं । त्यसपछि तार पड्किने वा नपड्किने भन्ने थाहा हुन्छ । तर तार भूमिगत गर्दा डराउनुपर्ने कारण छैन,” उनले भने ।
प्राधिकरणले एसियाली विकास बैंकको आर्थिक सहयोगमा दुई वर्षमा सम्पूर्ण काम सक्नेगरी पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत् प्रसारण प्रणाली निर्माण गरिरहेको हो । बाह्रखरी