दोहोरो नागरिकतामा मुछिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री अदालतद्वारा बर्खास्त



१० कात्तिक, काठमाडौं । अष्ट्रेलियाको एउटा अदालतले उपप्रधानमन्त्री बार्नाबी जोयस र अन्य चार राजनीतिज्ञहरुसँग दोहोरो नागरिकता रहेको भन्दै आफ्नो पदका निम्ति अयोग्य ठहर गरेको छ । हाइकोर्ट अफ अष्ट्रेलियाको सो ठहरपछि जोयससहित तीन जनाले कार्यालय छोड्नुपर्ने भएको छ भने अन्य दुई जुलाईमा रिटायर्ड भइसकेका छन् ।
अष्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका व्यक्तिले चुनाव लड्न नपाउने व्यवस्था गरेको छ । जोयसको बहिर्गमनबाट सरकारले बहुमत गुमाएको छ तर, उनी उपनिर्वाचनबाट फेरि फर्किन सक्छन् ।
गत अगष्टमा न्यूजिल्याण्डको नागरिकता त्यागेका उपप्रधानमन्त्री जोयसले तल्लो सदनको सिटमा फेरि प्रतिस्पर्धा गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘म अदालतको फैसलालाई सम्मान गर्छु,’ फैसला लगत्तै उनले प्रतिक्रिया दिए ।
सिनेटमा निर्वाचित भएका अन्य चार राजनीतिज्ञहरुमा फओना नाश, माल्कोम रोबर्ट्स, रारिसा वाटर्स र स्कोट लुड्लाम रहेका छन् । विवादमा रहेका अन्य दुई सिनेटर माट कानाभान र निक सेउनोफोनलाई भने अदालतले क्लीन चिट दिएको छ ।