दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९१ हजार नाघ्यो



काठमाडौं ।
दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो ।
तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका थिए ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन् । दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा