आगामी जेठ १३ गतेदेखि २०७७ सालको एसईई परिक्षा सन्चालन हुने



काठमाडौं ।
आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले नै आगामी एसईई राष्ट्रिय परीक्षा लिने भएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन गर्ने, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।