सत्ता समीकरणबारे कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त छलफ गर्दै



काठमाडौं ।
सत्ता साझेदारीका विषयमा छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्त रुपमा छलफलमा जुट्दैछन् । आज दिउँसो २ बजे तीन दलको बैठक बस्ने जसपाका नेता राजकिशोर यादवले जानकारी दिएका छन् ।
तीन दलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नयाँ सरकारको समिकरणका बारेमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले धेरै अघिदेखि नै प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका छन् ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिएको जसपाकै नेताहरु बताउँछन् । तर देउवा अघि बढ्दा पार्टीबाट विद्रोह गरेर ओलीसँगै गठबन्धन गर्ने सम्भावना कम हुने उनीहरुको दाबी छ ।
एमालेभित्र प्रधानमन्त्री ओलीबाट माधव नेपाल र झलनाथ खनाल पक्ष टाढिने देखिएपछि ठाकुर र महतोको प्रयासले पनि ओलीलाई जोगाउन कठिनाइ देखिन्छ । एमालेबाट नेपाल–खनाल पक्षका सांसदहरू नै ‘फ्लोर क्रस’ गर्ने मनस्थितिमा छन् ।
यस्तो अवस्थामा कांग्रेस सभापति देउवालाई नै समर्थन गरेर आफ्ना माग पुरा गराउने दाउमा जसपा रहेको छ । आजको छलफलले एउटा ठोस निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । दृष्टिन्युजवाट ।