ओखलढुंगाको चिशंखुगढीमा भिषण आगलागी, चुनिबोटे बस्ती जोखिममा



ओखलढुंगा ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा आगलागी भइरहेको छ । रातमाटे, चुनिबोटेको वन क्षेत्रमा मंगलबार बेलुकाबाट डढेलो लागेको हो ।
स्थानीयस्तरमा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ । मंगलबार राती १० बजेदेखि लागेको डढेलो २० घण्टा बितिसकेपनि नियन्त्रणमा आउन सकेको छैन ।
जंगलबाट सुरु भएको डढेलो चुनिबोटे बस्तीसम्म आइपुगेको र यसलाई रोक्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाले जानकारी दिए । उनले भने, ‘आगलागीलाई बस्तीतिर फैलन नदिने प्रयास भइरहेको छ । तर, आगो नियन्त्रण गर्न सकिएको छैन ।’
चिशंखुगढी–४ की वडासचिव मञ्जिता आचार्यले दुर्गम भेगमा आगलागी भएकोले नियन्त्रणमा लिन कठिनाइ भएको बताइन् । उनले भनिन्, ‘क्षति विवरण बुझ्न र नियन्त्रणको प्रयासका लागि जनप्रतिनिधि र स्थानीयबासीहरुले प्रयास गरिरहनुभएको छ । तर, दुर्गम भेग भएकोले कठिनाइ भएको छ ।’
आगो फैलिने क्रम भईरहेकाले जंगल आसपासका शेर्मा, राजमाटे लगायतका बस्ति आगलागीका जोखिममा परेका हुन् । आगो नियन्त्रणका लागि विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ६० जना परिचालन गरिएको छ ।