नेपाल–खनाल समूहमा कसरी अघि बढ्ने अलमलमा



काठमाडौं ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ ।
पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् ।
बैठकमा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल समूहको योजना छ । कान्तिपुरवाट