स्टाफ कलेज तालिममा सेनानी समिर वने सर्वोत्कृष्ट प्रशिक्षार्थी



काठमाडौं ।
विदेशी ६ सहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेको छ। सेनाका ४ महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका १/१ तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका १/१ सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा हालसम्म विभिन्न देशका ८९ विदेशी शिक्षार्थी दीक्षित भइसकेको जानकारी दिइएको थियो।
समापनका अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनानी समिर श्रेष्ठलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदानका साथै कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल २२औँ संस्करणको लोकार्पण समेत भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा धर्मकान्त बास्कोटा र शिक्षा अधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको तालिम र शोधपत्रमा प्रथम हुने सेनानी भूमिराज ओझालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ।सोही अवसरमा प्रधानसेनापति थापाले तालिम पूरा गरेका सैनिक अधिकृतले सङ्गठनलाई नवीन सोच र दृढ सङ्कल्पका साथ अघि बढाउन दृढ सङकल्प गर्न आवश्यक रहेको बताए।