बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर इन्सपेक्टरको मृत्यु


  • बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर इन्सपेक्टरको मृत्यु
  • विराटनगर । सडक पिच गर्न टाँगिएको डोरीमा अल्झिएर घाइते भएका निलम्बित प्रहरी निरीक्षकको मृत्यु भएको छ। चार दिनअघि घाइते भएका विराटनगर-१३ घर भएका प्रहरी निरीक्षक ५५ वर्षीय महावीर यादवको उपचारका क्रममा विराटनगरमा बिहीबार बिहान मृत्यु भएको हो। विराटनगर-१३ को नहरछेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर उनी मोटरसाइकलसहित लडेका थिए। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उनी सवार को१प ६७३८ नम्बरको मोटरसाइकल डोरीमा अल्झिँदा दुर्घटना भएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएका यादवको विराटनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खड्काले बताए। दुर्घटनामा परेपछि उनको स्पाइनल कर्ड भाँचिएको थियो। चार दिनसम्म सघन उपचार कक्षमा उपचार भए पनि उनले स्वास्थ्यलाभ लिन सकेका थिएनन्। ‘सडक कालोपत्रे गर्नलाई बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर दुर्घटना भएको थियो,’ खड्काले भने। सडकमा अत्यधिक धुलो उड्ने गरेका कारण उनले अगाडि डोरी टाँगिएको देखेनन्। सो सडक भूमि कन्सट्रक्सनले बनाइरहेको थियो। सवारी साधनको चाप अत्याधिक रहेका बेला वरपर संकेत नराखी कम्पनीले बिजुलीको पोलमा डोरी टाँगेर बाटो बन्द गरेको थियो। यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेट प्रकरणमा छानविन थालेपछि निलम्बनमा परेका थिए। २०७४ सालमा अख्तियारले उनको शैक्षिक प्रमाण पत्र छानविन थालेपछि उनी निलम्बनमा परेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *