बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।
ओलीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका अन्य दलका नेता बैठकमा सहभागी हुनेछन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने बैठकको जानकारी नभएको जसपा नेता विश्वदीप पाण्डेले बताए ।
जसपाका अध्यक्ष महन्थ ठाकुरसँग नियमित संवादमा रहेका प्रधानमन्त्रीले बाबुराम र उपेन्द्रलाई बोलाउन नचाहेको अनुमान त्यस पार्टीका नेताहरुले गरेका छन् । प्रधानमन्त्री र ठाकुरबीच भइरहेको वार्ता प्रक्रिया र अोली सरकारलाई साथ दिने मामिलामा ती दुई नेता विपक्षमा छन् ।
प्रधानमन्त्रीले संसदको हिउँदे अधिवेशन अन्त गर्नुअघि सबै दलसँग छलफल गर्न लागेका हुन् । दृष्टि