राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी


  • राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी
  • काठमाडाैं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटा कुल ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । एमालेको माधव नेपाल पक्षका मत नदिएपछि बादल पराजित भएका हुन् ।
    निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका थिए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए । अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य अनुपस्थित भए । त्यस्तै माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि बिरामी परेका कारण अनुपस्थित भइन् । मतदानमा अनुपस्थित हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका तीनजना, नेपाल मजदुर किसान पार्टीका एकजना र एमालेको माधव नेपाल पक्षका एकजना छन् । नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ मतदानमा अनुपस्थित भए । त्यस्तै दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि बिरामी परेका कारण अनुपस्थित भएकी छन् । उनी एमालेको माधव नेपाल पक्षमा खुलेकी दोलखाको एकमात्र जनप्रतिनिधि हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *