नेकपा एमालेको खनाल-नेपाल समूहले स्पष्टीकरण नदिने



काठमाडौं ।
नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलले टिप्पणी गर्नुभयो ।
‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक-पटक गरिरहनुभएको छ’ नेता रावलले उज्यालोसँग भन्नुभयो, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण पनि दिँदैनौँ ।’