कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने



काठमाडौं ।
कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ । यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए । यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन् । त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन् ।
यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन सरकारको ४२ करोड, एसियाली विकास बैंकको ३६ करोड र विश्व बैंकको ४२ करोड छ । अरू देश तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । नागरिक दैनिकवाट।