इराकले नेपाललाई ६-२ ले हरायो



काठमाडौं ।
इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो ।
इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक/एक गोल गरे ।
नेपालका मनीष डाँगीले एक गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरेका थिए । मनीषले राष्ट्रिय टोलीबाट डेब्यु खेलमै गोल गरेका हुन् ।
नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।
फिफा विश्वकप छनोटअन्तर्गत इराक समूह ‘सी’मा छ । इराक ५ खेल खेल्दै ११ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको बहराइन ९, इरान ६, हङकङ ५ र कम्बोडियाको १ अंक छ ।
नेपालको भने विश्वकप छनोटको सम्भावना समाप्त भइसकेको छ । नेपाल समूह ‘बी’को चौथो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईपेसँग खेल्नेछ ।