बर्षातले डेढ दर्जन बढी पुल क्षतिग्रस्त



काठमाडौं ।
गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो ।
पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।
सो पुलको एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पाँचवटा पुल बगायो ।
यस वर्षको वर्षायाम सुरु भएयता मनाङमा तीनवटाका साथै गोरखाको बारपाक अजिरकोट जोड्ने पुल भत्काएको छ । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् ।
वर्षायाममा मात्र होइन सुक्खायामा समेत निर्माणाधीन पुल भत्केको तितो यथार्थ छ । गत वर्ष चैतमा चितवन र तनहुँ जोड्ने नारायणी नदीमाथि निर्माण भइरहेको पुल भत्कियो । यस वर्षको वैशाखमा निर्माणको अन्तिम अवस्थामा रहेको धादिङको गल्छी गाउँपालिका केउरिनीटारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलमा हावाहुरीले गम्भीर क्षति पुग्यो ।
माथिका घटना त केही उदाहरण मात्र हुन् । कम्तीमा ५० वर्ष सेवा दिन सक्ने उद्देश्यसहित निर्माण गरिएका निर्माणाधीन पुल बगाउनु, स्पान भासिनु सामान्य हुन थालेको छ । अधिकांश पुल ढलान सकिएपछि भत्किने गरेको पाइएको छ । बर्सेनि एक दर्जनभन्दा बढी पुल निर्माण पूरा नहुँदैको अवस्थामै भत्किने गरेको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले जानकारी दिए ।
पुल बनाउने ठाउँको माटो परीक्षण, डिजाइनमा त्रुटि, अदक्ष प्राविधिकबाट काम हुनु, न्यूनतम मूल्य (लो बिड)मा बनाउन प्रस्ताव गर्ने ठेकेदारलाई कामको जिम्मेवारी, गुणस्तरहीन सामग्री प्रयोग, काममा लापरबाही, सार्वजनिक खरिद ऐनमा रहेको कमी कमजोरीका कारण पुलमा समस्या आउने गरेको पाइएको छ ।गाेरखापत्र दैनिक बाट