देउवा सरकारको पहिलो निर्णय चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप



काठमाडौं ।
सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क खोप लगाउने निर्णय गरेको हो ।
आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाइने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय पनि बैठकको छ ।