उपेन्द्र यादव पक्षद्वारा निर्वाचन आयोगमा उपस्थित हुने निर्णय



काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको उक्त पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ ।
शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
त्यस्तै बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको विधान प्रस्तुत भएको उनले जानकारी दिए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने यादवले बताए ।
यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।