कर्णाली नदी छेउछाउको बस्ती बाढी पहिरोको उच्च जोखिममा



काठमाडौं ।
कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । “कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्”, उनले भने, “जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।”
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए । “विसं २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उनले भने, “तर पनि उच्च जोखिममा रहेका नागरिक बस्ती सर्न मान्दैनन् ।”