कक्षा १२ पास गरेकोलाई भारतमा छात्रवृत्तिको अवसर



काठमाडौं ।
कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।
भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो ।
संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् । संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने ।
उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ ।