विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिइने


काठमाडौं ।
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएपछि प्रवेशपत्रको आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हो ।
प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो ।
परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।