प्रश्नप्रत्र लिक प्रकरणमा दोषी देखिएका तीन प्रहरीलाई बर्खास्त गर्दै



काठमाडौं ।
संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।
प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।
प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । हबल्दार शाहले यूएन शाखाबाट प्रश्नपत्र झिकेर भाइबरमार्फत आउट गरेको पुष्टि भइसकेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठित समितिले छानबिन सकेर ५ सय ५० पृष्ठ लामो प्रतिवेदन प्रहरी महानिरीक्षक थापालाई बुझाएको हो ।