अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी, विधुत सेवा अवरुद्ध



काठमाडौं ।
अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको बिबिसीले जनाएको छ।
मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन्।तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन्।
दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन्।न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो तर कोही पनि बिरामी घाइते भएनन्।
लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन्।हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् भने अन्य व्यक्तिहरूलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ।