विद्यालयमै शिक्षक बिसीको विभत्स हत्या



दैलेख ।
दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या भएको छ । मंगलबार बिहान उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।
दैलेख प्रहरीका अनुसार शिक्षक बिसीको घाँटी रेटेर हत्या गरिएको छ । मंगलबार बिहान दूध पुर्याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले हत्याको आशङ्कामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लगेर दैलेख सदरमुकाम पुर्याइएकाे प्रहरीले जनाएकाे छ । यद्यपि, उनीहरूकाे नाम भने खुलाइएकाे छैन । शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए ।