आजबाट चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा



काठमाडौं ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (शुक्रबार)देखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउने कम्पनीको भनाई छ ।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनफ्लावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ तथा भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिनेछ ।
चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्त्व बढेको कम्पनीले जनाएको छ । यस वर्ष कम्पनीले दसैं र तिहारका लागि करीब ३ हजार खसी बोका भित्र्याउने तयारी गरेको छ ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।
कोरोना महामारीको त्रास कायमै रहेकाले भीडभाड कम गर्ने र भौतिक दूरीलाई ध्यानमा राख्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ । खाद्य कम्पनीले काठमाडौं उपत्यकाभित्र अनलाइन अर्डरमार्पmत पनि सामान उपलब्ध गराइरहेको छ । दृष्टि