चाडपर्व नजिकिँदै गर्दा कुखुराको मासुको मूल्य घट्यो



काठमाडौं ।
चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।
महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण घटेर करीब ४ लाख ९० हजार किलोमा सीमित रहेको छ ।
‘सामान्यतया चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।