चुडामणि शर्मा ५० लाख धरौटीमा रिहा


काठमाडौं ।
तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएको छन् ।
सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उनी धरौटी छुटेका हुन् ।
उनी अदालतले मागेको धरौटी बुझाएर रिहा हुने तयारीमा छन् । धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् ।
कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । उनीहरु अदालतको आदेशबमोजिम जनही ५०/५० लाख रुपैयाँ धरौटी बुझाएर आइतबार नै रिहा भइसकेका छन् ।