जुम्लामै स्याउको मुल्य १ सय ५१ रुपैयाँ



काठमाडौं ।
एक दशक अघि सम्म जुम्लाको मुल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो । स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो । जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे । अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो । माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो । बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो ।
तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुदैँ जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो । यहाँको स्याउको मुल्य बढ्दै जान थाल्यो । किसानहरू स्याउ खेती प्रति आकर्षित हुन थाले । गत बर्ष बगैँचामै स्याउको मुल्य प्रतिकेजी ५० रुपैयाँ थियो । यो बर्ष जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ प्रतिकेजी छ । यो मुल्य जुम्ली स्याउको अहिले सम्मको सर्वाधिक हो ।
जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन् । उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन । यो मुल्य पनि निकै कम हो।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।